नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अवधि चैत १४ गतेसम्म थप
काठमाडौं,२८ फागुन । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयरमा अब चैत १४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
इन्स्योरेन्सले हाल कायम पूँजीको २५ प्रतिशत अर्थात ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो । माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। शेयरधनीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइन मार्फत समेत हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्