लास पाल्मास विरुद्ध रियलको जित

एजेन्सी । गए राति स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३–० ले हराएको छ । घरेलु टोलीको जितमा कासेमिरो, इस्को र मार्को एसेन्सियोले गोल गरेका थिए ।

रियलले पहिलो हाफको सुरुवाती समयमा अग्रता लिने केहि राम्रा अवसरहरु पाएको थियो तर पहिलो गोल ४१ औं मिनेटमा मात्र भयो । मिडफिल्डर कासेमिरोले हेडिङ गर्दै १–० बनाएका थिए । त्यस्तै रियल दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो ।

खेलको ५६ औं मिनेटमा एसेन्सियोले ३० यार्ड टाढाबाट आकर्षक गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोको पासमा इस्कोले गोल गर्दै रियलको ३ अंक पनि सुनिश्चित गरेका थिए ।

११ खेलमा २३ अंकका साथ रियल तेस्रोमा रहेको छ र प्रतिद्वन्दि बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ । लास पाल्मास भने लगातार सातौं हार बेहोर्दै तालिकाको १९ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्