अमेरिका र युक्रेनबीच अर्को साता पुनः वार्ता हुने
काठमाडौं,२३ फागुन । अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच अर्को साता पुनः भेटवार्ता हुने भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को साता अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच भेटवार्ता हुने निश्चित भएको बताएका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार जेलेन्स्कीले बिहीबार वक्तव्य जारी गर्दै चाँडै नै दुई देशका उच्च अधिकारीबीच भेटवार्ता हुने बताएका हुन्।
युक्रेनी र अमेरिकन टोलीले फेरि काम सुरू गरेका छन्। अर्को साता सार्थक वार्ता हुनेछ भन्नेमा आशावादी छौं । जेलेन्स्कीले वार्ता मंगलबार नै हुने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा युक्रेनसँग वार्ताको पहल भइरहेको बताएका थिए ।
विटकफले ह्वाइट हाउसको चर्काचर्कीपछि जेलेन्स्कीको पहिलो पत्रले नै वार्तालाई पुनः सुरु गर्न भूमिका खेलेको बताए । राष्ट्रपति जेलेन्स्कीले सद्भावपूर्ण चाहना राखेकोे, आत्माआलोचना गरेर शान्तिको लागि काम गर्न चाहेको बताउनु भएका छन् ।
विटकफले जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार भएको पनि बताए । राष्ट्रपति जेलेन्स्कीले उक्त बैठकमा रूसबाट धेरै प्रतिबद्धताहरूमा जोड दिने बताएका छन्। ।
” युक्रेनीहरू वास्तवमै शान्ति चाहन्छन्। तर आफ्नो भूभाग गुमाएर होइन,” जेलेन्स्कीले भने, ” तर रूस साँच्चै युद्ध त्याग्न तयार छ कि छैन भन्ने प्रश्न मूल हो,” जेलेन्स्कीको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।
ह्वाइट ह्वाइसमा चर्काचर्की भएको ७२ घन्टामै ट्रम्पले युक्रेनलाई दिँदै आइको सैन्य सहायतालाई अस्थायी रूपमा रोक लगाएका छन्।
जेलेन्स्कीले युक्रेनको सार्वभौम सत्ता र स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकाले गरेको सहयोगको प्रंशसा गरेको पनि ट्रम्पले बताएका थिए ।
सँगसँगै रूससँग पनि वार्ता गरिरहेको ट्रम्पले बताएका थिए । उनीहरू पनि शान्तिका लागि तयार छन् भन्ने प्रष्ट संकेत मिलिरहेको छ। यो भन्दा राम्रो के हुन्छ ?, ट्रम्पले भनेका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कर्मचारी प्रमुख एन्ड्री यर्मार्कले पनि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँग टेलिफोन वार्ता गरेका थिए ।
टेलिफोन संवादपछि उनले दुई देशका अधिकारीबीच चाँडै वार्ता हुने बताए ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्