पूर्व राजा जनतामाझ जाँदा सरकारका प्रवक्ता गुरूङको आक्रोश, नेपालमा उदार लोकतन्त्र भएकोले छाडेको हो, अन्यत्र भए जेलमा हालिसक्थे
काठमाडौं, २३ फागुन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले उदार लोकतन्त्र भएको नेपालमा पूर्वराजालाई सुरक्षाको प्रबन्धसमेत गरेर राखिएको बताएका छन्।
अन्यत्र भए व्यवस्था बदलिएपछि सम्पत्ति हरण गरी जेलमा राख्ने इतिहास भएको उनको भनाइ छ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै मन्त्री गुरूङले राजनीतिक दलहरूमाथि कटाक्ष गर्दै फेरि फर्कन्छु भन्ने हर्कत गर्नु आफ्नो हैसियत भुलेको हुने बताए।
‘हाम्रो मुलुक उदार लोकतन्त्र भएको मुलुक हो। अरूजस्तो मुलुकमा भएको भए जनतालाई दुस्ख दिने त्यस्तो परिवार, राजसंस्था र व्यक्तिहरूलाई त्यो शासन प्रणाली उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो, तिनका सम्पत्ति राज्यले हरण गर्नुपर्ने हो, दुनियाँमा त्यही छैन इतिहास? ’ शुक्रबार मन्त्रालयमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरूङले भने, ‘सुरक्षाको प्रबन्ध गरेर हामीले नागार्जुन दरबारमा राखेका छौं। आज उनी त्यस्तो प्रबन्ध गर्ने राजनीतिक दलहरूलाई कटाक्ष गर्दै म फेरि फर्कन्छु भनेर जुन खालका हर्कत गरिरहेका छन्, योचाहिँ उसले आफ्नो हैसियत भुलेको हो। हामीले गरेको उदार प्रबन्धलाई भुलेको हो।’
प्रतिक्रिया दिनुहोस्