एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,२३ फागुन । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले फागुन १८ गतेदेखि खुला गरेको १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा जारी ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने भएको हो । ऋणपत्रमा चैत ३ गतेसम्म आवेदनको समय थप गरिए पनि माग बमोजिम आवेदन परिसकेकाले आजसम्म मात्र आवेदन दिन पाइने छ ।

बैंकले कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ, जसको मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । कुल ऋणपत्रकोे ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत लगानीकर्ताका लागि र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणलाई बाँडफाँट हुने ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू तथा मेरो शेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

बैंकको यस ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्