क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं,२२ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । यसका साथै कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले अहिले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन २६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। ।















प्रतिक्रिया दिनुहोस्