नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन: झलनाथ खनाल
काठमाडौं,२० फागुन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मंगलबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको जिकिर गरे ।
तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ भएको खनालले बताए, निश्चित इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताए ।
संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको बताए ।
अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरुप कुनैपनि ऐनहरू सामान्य रुपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन ।
प्रक्रियाकै हिसाबले पनि आफ्नो पार्टीको संसदीय दलले अध्यादेशलाई समर्थन नगर्ने उनले प्रष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्