ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार लगाउने
काठमाडौं,२० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्यरातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए । क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए ।
पछि लागू हुने बेलामा अन्तिम क्षणमा ३० दिनका लागि रोकेको थिए । ह्वाइट हाउसमा सोमबार बोल्दै एक महिनाअघि जस्तै यो पटक पनि अन्तिम मिनेटमा भन्सार रोक्ने कुनै सम्भावना नरहेको उनले जोड दिएका छन्। । ट्रम्पले भन्सार लगाउने सबै तयारी गरिसकिएको र मंगलबारदेखि लागू हुने घोषणा गरे भनेर द न्यु योर्क टाइम्सले लेखेको छ ।
उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भन्दै आएका छन्। ।
अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागुऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भनेपछि एक महिनाअघि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका थिए ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका छिर्नबाट रोक्न १० हजार सैनिक खटाउने भनेपछि ट्रम्पले भन्सार लगाउने कदम रोकेका थिए । जबाफमा अमेरिकाले पनि मेक्सिकोमा आफ्नो शक्तिशाली हतियार जानबाट रोक्न प्रतिबद्धता जनाएको थियो ।
ट्रम्पको पहिलो कार्यकालमा पनि भन्सारबाट जोगिन मेक्सिकोले अमेरिकासँगको सीमामा १५ हजार सैनिक पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि भन्सार महसुलमा रोक लागेको बेलामा अमेरिकी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नो सरकारले फेन्टनिल नियन्त्रण गर्न एक जना अधिकारी नियुक्त गर्ने र मेक्सिकोका लागुपदार्थ पैठारी गर्ने गिरोहहरूलाई आतंकवादी समूह भनेर सूचीबद्ध गर्ने पनि भनेका थिए ।
एक महिनाअघि मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पले धम्की दिएपछि विश्व बजारमा हलचल भएको थियो । उनले एक महिनापछि फेरि मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएका हुन्। ।
प्रतिक्रिया दिनुहोस्