स्थानीयको अवरोधका कारण पुनः रोकियो नागढुंगा सुरुङमार्गको काम
काठमाडौं,१९ फागुन । धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयको अवरोधपछि नागढुङ्गा सुरुङमार्गको काम पुनः रोकिएको छ ।
गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएका घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् । उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।
स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ । स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेका छन् । नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले भने, सो आयोजनाका जापानीज ठेकेदार कम्पनीले भने उक्त कुरा स्वीकार गरिरहेको छैन । हामीले विभागमा पनि जानकारी गराएका छौं तर काम अगाडि बढ्न सकेको छैन ।
उनले विभागको तर्फबाट स्थानीयलाई छलफलमा बोलाए पनि विभागमा आउन मानेका छैनन् ।
नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन्, फ्लाईओभरको काम जारीछ, फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । सन् ०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ ।
नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाईओभर बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्