मौसममा आजबाट सुधार, वर्षा र हिमपातको सम्भावना छैन
काठमाडौं, १८ फागुन। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले ले जनाएको छ ।
यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।
विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।
गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो । यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको बरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
उनका अनुसार मौसममा आजबाट सुधार भइसकेको छ । त्यसैले आज वर्षा र हिमपातको सम्भावना छैन ।
शुक्रबार र शनिबार उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ परेको थियो । हिमपातले केही जिल्लामा यातायात आवागमन नै प्रभावित भएको थियो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने लुकुम–पातिहाल्ना खण्डमा परेको हिमपातले गाडी चल्न नसक्दा यात्रुहरु अलपत्र परेका थिए । शनिबार दिनभर हिउँ पन्छाएर तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुहरुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
हिउँ सकिनेबेला भएको हिउँदे झरी र हिमपातका कारण कतिपयलाई यात्रामा कष्ट भए पनि बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् । लामो समयदेखिको खडेरीले किसानहरु मर्कामा परेका थिए । यले केही राहत मिलेको छ ।















प्रतिक्रिया दिनुहोस्