देशको सार्वभौमिकता जोखिममा: बंगलादेशी सेना प्रमुख

काठमाडौं, १५ फागु्न । बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले देश खतरामा रहेको बताएका छन्।

सेनाले आयोजना गरेको एउटा कार्यक्रममा सेनाप्रमुख जनरल उज–जमानले बंगलादेशमा पछिल्लो समय भएका घटनाक्रमले देश खतरामा रहेको बताएका हुन्। त्यसकारण तत्काल राष्ट्रिय एकता र संस्थागत अनुशासन अपरिहार्य रहेको पनि उनले बताए।

समाजमा निरन्तर र द्रुत गतिमा बढ्दो आन्तरिक कलहले बंगलादेशको सार्वभौमसत्तालाई ठूलो जोखिममा पारेको छ, उनले भने।

बंगलादेशमा विद्यार्थीहरले सुरू गरेको देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी थिइन्। अहिले उनी भारतको शरणमा छिन् भने बंगलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकार छ।

हसिनाको बहिर्गमन र अन्तरिम सरकार गठनपछि बंगलादेश शान्त हुने अनुमान थियो। तर युनुस नेतृत्वको सरकार बनेपछि पनि त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

फेब्रअरीदेखि त्यस्तो प्रदर्शनले अझै ठूलो रूप लिएको छ।

राष्ट्रिय एकता आवश्यक रहेको बेला आफू–आफू लड्ने र दोष एक अर्कालाई दिन खोज्दा बंगलादेशको भलो नचाहने र अहिलेको अवस्था नचाहेकाहरूका लागि अनुकूल परिस्थिति बन्ने खतरा रहेको पनि जनरल उज–जमानले बताए।

उनले अहिले बंगलादेशमा अराजकता मौलाएको र त्यसलाई निस्तेज गर्न प्रहरी प्रशासन पनि कमजोर रहेको बताए।

प्रतिक्रिया दिनुहोस्