वृद्धिलाई निरन्तरता दिदै अगाडि बढ्यो नेप्से, लगानीकर्ताहरुमा बढ्दो आत्मविश्वास र उत्साहित

काठमाडौं, १३ फागुन । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ७.१३ अंक बढेर २७६५.८८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ११ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ९७ हजार ५६२ पटकको कारोबारमा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल ल्यूब आयलको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड ६२ लाख ७३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको साढे २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.५१ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्