विधि र कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने गगनको उद्घोष

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधि र कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन्। प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस एमालेसँगको सम्झौतामा इमान्दार रहेपनि तलदेखि माथिसम्म समान हैसियत हुनुपर्ने बताए।

उनले भने, ‘अहिले हामी एमालेसँग मिलेर सरकारमा छौं। म त एमाले र माओवादीकै सरकार निरन्तर होस् भन्ने चाहन्थे। तर, त्यो परिस्थिती बनेन। अहिले एमालेसँग मिलेर सरकारमा छौं। आफ्नो भूमिकाप्रति इमान्दार छौं। ०८४ को चुनावसम्म हाम्रोतर्फबाट सम्झौतामा इमान्दार रहन्छौं।’

उनले एमालेसँग सहकार्यमा कांग्रेसको आफ्नै शर्त रहेको बताए।

उनले थपे, ‘अबको तीन वर्ष सरकार चलाउँदा हाम्रो केही शर्त छन्। हामी विधि र कानूनको शासनमा सम्झौता गर्नुपर्यो भनेर सरकार छाड्छौं। तर, कानूनको शासनमा सम्झौता गर्दैनौं। प्रजातान्त्रिक अधिकार, त्यो भनेको बोल्न र हिँड्न पाउने अधिकारसँग सम्झौता गर्नुपर्यो भनेर कांग्रेसले सरकार छाड्छ। तर, सम्झौता गर्दैन। एमालेसँग कांग्रेस बराबरको व्यवहार चाहन्छ, न एमालेलाई हेप्छौं, न हेपिन्छौं। न माथि न तल हामी केन्द्रदेखि जिल्लासम्म त्यही चाहन्छौं। हामीलाई काहिँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं। त्यसैले हामी एमालेसँग मिलेर केही परिणाम दिन चाहन्छौं।’

उनले गत संघीय चुनावमा प्युठानमा कांग्रेसलाई गिलासमा भोट हाल्न लगाएर गल्ती गरेको भन्दै माफी मागे।

प्रतिक्रिया दिनुहोस्