स्काउटका प्रमुख आयुक्तबाट रन्जितलाई बर्खास्त गरी खेलकुदमन्त्रीद्वारा घिमिरेलाई नियुक्ति
काठमाडौं, ७ फागुन । युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई पदबाट हटाएका छन् । रन्जितको स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ ।
रन्जितसँग मतभेद बढेपछि मन्त्री चौधरीले विभिन्न आरोप लगाउँदै उनलाई प्रमुख आयुक्तबाट हटाएको स्काउट स्रोतले बतायो। मन्त्री चौधरीले गत माघ २८ गते प्रमुख आयुक्त रन्जितलाई पत्र लेखेर १० बुँदे स्पष्टीकरण सोधेका थिए ।
रन्जित प्रमुख स्काउटबाट मनोनयन भई नेपाल स्काउटको प्रमुख आयुक्त बनेका थिए । उनलाई नेपाल स्काउट ऐन २०५० (संसोधन सहित), नेपाल स्काउट नियमावली २०७७ (संसोधन सहित), नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संसोधन सहित) र प्रचलित कानुनको समेत उल्लंघन गर्दै विभिन्न निर्णय गरेको सम्बन्धमा स्पष्टीकरण मागिएको थियो । तीन दिनभित्र युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटसमक्ष भौतिक रुपमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न मन्त्रीले निर्देशन दिएका थिए ।
रन्जितले स्पष्टीकरणको जवाफ दिए पनि त्यो चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरिएको स्रोतले बतायो ।
यसका साथै मन्त्री चौधरीले राष्ट्रिय कार्यकारी समिति पुनर्गठन गरेका छन् । कार्यकारी समितिबाट ७ जनालाई हटाएर नयाँ नियुक्ति गरेका हुन् । स्रोतका अनुसार इन्दु सुबेदी, कमल बहादुर देउजा, भुवन सुब्बा, सन्तोष कुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ आयुक्त एवं सदस्यमा नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्