गोरखा जिल्लाको उत्तरी भेगमा भारी हिमपात, जनजिवन प्रभावित
काठमाडौं,५ फागुन । गोरखा जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । सो क्षेत्रमा गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् ।
लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो । अहिले परेको हिउँ यो यामको सबैभन्दा ठूलो हिमपात हो । नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको छ ।
मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ। तल स्याँलासम्म हिउँ परेको छ ।
भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको छ । सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ, उनले भने, ‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।
हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिए।
मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उनको भनाइ छ ।
हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका छन् । सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ ।
चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्