ट्रम्पको संघीय कर्मचारी हटाउने योजनालाई अदालत दियो सहमती

काठमाडौं,१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय कर्मचारी हटाउने योजनामा अदालतले सहमती दिएको छ ।

संघीय अदालतले संघीय कर्मचारीको आकार घटाउन ट्रम्प प्रशासनले अगाडि बढाएको प्रक्रियालाई निरन्तरता दिन बुधबार अनुमति दिएको हो ।

ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छिक राजीनामा गर्न इमेलमार्फत सन्देश पठाएको थियो । त्यसरी राजीनामा गर्ने कर्मचारीले आगामी अक्टोबरसम्म तलब पाउने अफर पनि ट्रम्प प्रशासनले दिएको थियो ।

कर्मचारीलाई निकाल्ने ट्रम्पको योजना अन्यायपूर्ण रहेको भन्दै त्यहाँका कर्मचारी युनियन अदालत पुगेको थियो । एक साताअघिको प्रारम्भिक सुनुवाइमा बोस्टनका संघीय जिल्ला न्यायाधीश जर्ज ओ टुलले उक्त ट्रम्प प्रशासनलाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

बुधबार भएको सुनुवाइमा भने कर्मचारीलाई राजीनामा गराउने प्रक्रिया अगाडि बढाउन उनै न्यायाधीशले आदेश गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्प प्रशासनले भने राजीनामाका लागि नयाँ आवेदन रोकिएको जनाएको छ।

अदालतको उक्त आदेश गरेपनि कर्मचारी युनियनले संघीय कर्मचारीहरूलाई तत्काल राजीनामा नगर्न अनुरोध गरेको छ । युनियनलाई माथिल्लो अदालतमा अपिल गर्ने सुविधा अझै बाँकी रहनेछ ।

ट्रम्पले विशेषगरी रिटायर्ड हुन लागेका, कार्यसम्पादनमा कमजोर भएका तथा डेमोक्र्याटिक पार्टीप्रति झुकाव भएका कर्मचारीलाई हटाउन लागेका हुन्। ।
ट्रम्प प्रशासनले यसअघि पठाएको इमेलमा करिब ६५ हजारभन्दा बढी कर्मचारीहरूले सहमति जनाएर जबाफ फर्काएका छन्।

  • एजेन्सीको सहयोगमा

बाँकीको मूल्यांकनका लागि संघीय एजेन्सीहरुलाई आफ्ना सल्लाहकार इलन मस्कसँग समन्वय गरी काम गर्न ट्रम्पले आदेश जारी गरिसकेका छन्। ।

प्रतिक्रिया दिनुहोस्