युएसएआइडीका महानिरीक्षकलाई ट्रम्पले गरे बर्खास्त

काठमाडौं, ३० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग नियोग (युएसएआइडी)का महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन्।

मंगलबार युएसएआइडीको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने भनेर ह्वाइट हाउसबाट मार्टिनलाई इमेल पठाइएको थियो।

उनलाई किन जिम्मेवारीबाट हटाइएको हो भनेर कारण भने नखुलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

महानिरीक्षकको कार्यालयले युएसएआइडीका कार्यक्रमहरूको निरक्षण गर्छ। सोमबार यसले एक प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी कटौती गर्ने ट्रम्प प्रशासनको आलोचना गरेको थियो।

युएसएआइडी बन्द गर्नतर्फ सरकार अग्रसर भइरहँदा यसले शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका कामहरू प्रभावित भएको भनेर प्रतिवेदनमा लेखेका थिए।

ट्रम्प र इलन मस्कले भनेजस्तो युएसएआइडी आपराधिक संगठन नभएको पनि प्रतिवेदनमा उल्लेख छ।

त्यसरी प्रतिवेदन सार्वजनिक भएको एक दिनमै महानिरीक्षकलाई ट्रम्पले बर्खास्त गरेका हुन्। उनको बर्खास्ती तत्कालबाट कार्यान्वयन हुनेगरी इमेल पठाइएको महानिरीक्षक कार्यालयका कर्मचारीहरूले रोयटर्सलाई बताएका छन्।

ट्रम्प प्रशासनले युएसएआइडीका सबै कर्मचारीहरूलाई बिदा दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्