निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं, ३० माघ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदैछ ।

राष्ट्रिय सभागृहमा आज बिहान साढे १० बजे प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । त्यसपछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ ।

यो अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदमा रेवन्त गौतम र भवानी न्यौपाने दाहाल प्रमुख दाबेदार छन् । दाहाल र गौतम दुवै हाल संगठनका उपाध्यक्ष छन् ।

रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्षमा दाबी नछाड्ने अडानमा छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने प्रयासमा छिन् ।

महासचिव पदमा आरसी अधिकारी, युवाचन्द्र घिमिरे र कृष्ण केसी दाबेदार छन् । सहमतिमा नेतृत्व चयन गर्ने कि निर्वाचनबाट भन्नेमा सहमति जुटिसकेको छैन ।

उम्मेदवारका आकांक्षीहरुले संगठनलाई पारदर्शी र गतिशील बनाइराख्ने तथा निजामती कर्मचारीको हकहित र वृत्तिविकासमा पहल गर्ने मुद्दा उठाएका छन् । संगठनका उपमहासचिव अधिकारीका अनुसार महाधिवेशनमा ७२८ प्रतिनिधिहरु सहभागी रहने छन् । बंगलादेश, श्रीलंका र भारतका कर्मचारी संगठनका नेताहरु पनि पाहुनाका रुपमा उदघाटन सत्रमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्