अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुज प्रान्तको बैंकमा विस्फोट, ५ को मृत्यु
काठमाडौं, २९ माघ । अफगानिस्तानको उत्तरी क्षेत्रको बैंक बाहिर बम विस्फोट भएको छ । मंगलबार भएको उक्त बम विस्फोटमा कम्तीमा ५ को मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई लक्षित गरी आत्मघाती आक्रमण भएको अफगान प्रहरीले जनाएको छ । मारिनेमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्य छन् ।
हमलामा घरेलु विस्फोटक उपकरण प्रयोग भएको कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले बताए । उनका अनुसार विस्फोटक पदार्थ बोकेका व्यक्तिले भीडमा पुगेर आफैंलाई विस्फोट गराएका थिए ।
कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ, खाक्सरले भने ।
गत वर्षको मार्चमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले गराएको आक्रमणपछि यो दोस्रो घटना भएको बताइएको छ । मंगलबारको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्