प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलद्वारा अवरोध

काठमाडौं, २९ माघ। प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका हुन् ।

आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताए ।

उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् ।

तर, रास्वपा सांसद पराजुली, सुमना श्रेष्ठ लगायतले उठेर विरोध गरे । केहीबेरमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावली अनुसार नचलिरहेको बताए ।

‘कुन नियमावली अन्तर्गत बोल्न दिइयो ? हामीलाई जवाफ चाहिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्