बुटवल पावरको नाफामा झिनो वृद्दि

काठमाडौं,२९ माघ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो वृद्दि  भएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.७२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२२ प्रतिशत बढेर ४१ करोड ८९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ०.८५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.६७ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने यस अवधिमा २७.३४ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९१ पैसा बढेर ११ रुपैयाँ ३७ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६९.५३ गुणा रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्