हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य बढ्यो

काठमाडौं,२९ माघ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

चालु आ.व.को दोस्रो त्रमासको मसान्तसम्ममा डिष्टिलरीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३१.९७ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७.३६ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ १० पैसा बढेर २६ रुपैयाँ ३५ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.८७ गुणा रहेको छ।

कम्पनीको दोस्रो त्रयमासको अन्त्यसम्म चुक्ता पूँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । भने कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्