तेजुलाल चौधरीले संशोधन गरे नेपाल स्काउट कर्मचारी नियमावली

काठमाडौं, २९ माघ। विवादित नेपाल स्काउट कर्मचारी नियमावली युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले संशोधन गरेको छन् । उाले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका हुन् ।

नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको थियो । सोही नियमावलीमा उनले हस्ताक्षर गरेका थिए ।

‘श्री ५ को सरकार’लेखेर हस्ताक्षर गरेको समाचार बाहिरिएपछि मन्त्री चौधरीले त्यसको ठाउँमा सच्याएर नेपाल सरकार बनाइएको हो ।

नियमावलीको अनुसूची ४(क)को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४)मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य लेखिएको थियो ।

नियमावली टाइप गर्दा गल्ती भएको बताउँदै मन्त्रालयले सच्याइएको बारे जानकारी दिएको छ । स्काउटका राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरीले सच्याएर प्रमाणीकरण गरी कार्यान्वयनका लागि स्काउट प्रधान कार्यालयलाई पठाएका छन् ।

प्रधान कार्यालयमा पठाइएको पत्रमा लेखिएको छ, ‘संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्याई नियमावलीमा उल्लेखित श्री ५ को सरकार लेखिएको शब्दको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्