अमरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तरी छिमेकी क्यानडालाई अमेरिकाको ५१ औं राज्यमा गाभ्ने योजना रहेको खुलासा

 

काठमाडौ, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी छिमेकी क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनेबारे आफू गम्भीर रहेको बताएका छन्।

आइतबार राति भएको अमेरिकी फुटबल लिगको फाइनल खेल (सुपर बोल) अघि फक्स न्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा क्यानडालाई अमेरिकामा गाभ्ने उनको कुरा साँच्चै हो भनेर सोध्दा उनले हो भनेका छन्।

क्यानाडा ५१ औं राज्य भएमा धेरै राम्रो हुनेछ किनभने हामीले क्यानडासँग वार्षिक दुई खर्ब डलर गुमाउँछौं। र म यो हुन दिनेछैन। हामी खासमा क्यानडालाई सहुलियत दिए जसरी किन हरेक वर्ष दुई खर्ब डलर डलर तिरिरहेका छौं? ट्रम्पले प्रश्न गरेका छन्।

क्यानडालाई अमेरिकाले सहुलियत दिएको ट्रम्पले दाबी गरे पनि क्यानडालाई अमेरिकाले सहायता दिने होइन। अमेरिकाले प्राकृतिक स्रोतले भरपूर क्यानडाबाट कच्चा तेल र कृषि अनि औद्योगिक उत्पादन किन्ने गर्छ। अमेरिकाको क्यानडासँगको व्यापार घाटा बढेर सन् २०२३ मा ७३ अर्ब डलर पुगेको थियो। यो मुख्यतः ठूलो परिमाणमा पेट्रोलियम पदार्थ किनेका कारण हो।

ट्रम्पले गत नोभेम्बरमा चुनाव जिते लगत्तैदेखि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनुपर्ने टिप्पणी गरिरहेका छन्।

उनले केही साताअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई महान राज्य क्यानडाका गभर्नर भनेर सम्बोधन गरेका थिए।

ट्रुडोलाई उडाउन वा उनीमाथि दबाब सिर्जना गरेर आफू अनुकूल व्यापार सम्झौता गर्न ट्रम्पले यस्तो टिप्पणी गरेको मानिन्थ्यो।

ट्रम्प उदारवादी डेमोक्र्याटिक पार्टीलाई गाली गरेर दोस्रो पटक राष्ट्रपति निर्वाचित भएका हुन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि उदारवादी नेता हुन्। उनीसँग आप्रवासी, जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा ट्रम्पको पहिलो कार्यकालदेखि नै चरम मतभेद थियो।

प्रतिक्रिया दिनुहोस्