डिप्रोक्स लघुवित्तको नाफा भारी वृद्धि, नाफासंगै बढ्यो प्रति शेयर आम्दानी

काठमाडौं,२८ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारी वृद्घि, भएको छ ।

लघुवित्तले चालु आ.व.को दोस्रो त्रयमासको अन्तसम्ममा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.४९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.१४ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५३.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.९२ प्रतिशत बढेको छ । यस अवधिमा वितरणयोग्य प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५९ पैसा रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १६ पैसा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७।२६ गुणा रहेको छ ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्