छिमेक लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं,२७ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रयमासको अन्तसम्ममा लघुवित्तले ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आ.व.को सोही अवधिको तुलनामा १७।३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी सामान्य घटेपनि इन्मेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३८.१७ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.५७ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २४ करोड ८ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै बढ्न पुगेको हो।

त्यस्तै, दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९९ रुपैयाँ ४४ पैसा पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर ३१ रुपैयाँ ८४ पैसा पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३७ रुपयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.६७ गुणा छ ।

चुक्ता पूँजी ३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ । दोस्रो त्रयमासको अन्तसम्ममा लघुवित्तले ४० अर्ब १६ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३७ अर्ब ८२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्