कैलालीमा आमा–छोरी मृत अवस्थामा भेटिए
काठमाडौं, २५ माघ । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार बिहीबार साँझ साढे ७ बजेतिर आमा घरमै झुन्डिएको र छोरी पासो काटिएको अवस्थामा भुइँमा मृत भेटिएका हुन् ।
मृतक मिराका देबर नरेश विकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासू आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्