रवि लामिछाने विरूद्धको सहकारीको बचत अपचलन मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं,२३ माघ । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा रास्वपाका पार्टीका सभापति रवि लामिछाने विरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

बुधबार बिहान अदालत उपस्थित भएको लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने तय भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछानेसँगको बयान केही बेरमा सुरू हुनेछ, बयान सकिएपछि बहस सुरू हुनेछ । बहसमा सुरूमा सरकारी वकिलहरू, त्यसपछि जाहेरवाला सहकारी पीडितपक्षका वकिल र अन्तिममा प्रतिवादी पक्षका वकिलहरूले गर्ने छन्। ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।

यस मुद्दामा १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दामात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिलको कार्यालय चितवनले रवि लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा नचलाएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्