श्वेत गंगा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो
काठमाडौं,२३ माघ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा विद्युत बिक्रीमार्फत ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नाफा पनि धनात्मक भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड २५ लाख रुपैयाँ धनात्मक भएको छ । कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफा धनात्मक हुन पुगेको हो ।
यस अवधिमा कम्पनीको कुल नाफा १०.३३ प्रतिशत बढेको छ भने खुद सञ्चालन मुनाफा १५.९१ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २२.१३ प्रतिशत घटेको छ ।
दोस्रो त्रयमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ । त्यसैगरि, यस अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३९.८३ गुणा रहेको छ ।
१ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्