अमेरिकी राष्ट्रपति ट्रम्पको आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित

काठमाडौं, २२ माघ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क)लगाउने निर्णय स्थगित गरेका छन् । चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।

ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५/२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो ।

अमेरिकाको प्रतिक्रियास्वरुप क्यानडाले पनि अमेरिकी वस्तुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।

त्यसपछि सुरुमा मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ लगाउने निर्णयबाट पछि हटेका ट्रम्पले पछि क्यानडालाई ट्यारिफ लगाउने निर्णय पनि स्थगित गरेका हुन् ।

ट्रम्पले ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका छन् । क्यानडाले अमेरिका प्रवेश हुने फेन्टालिन जस्ता अवैध लागूऔषध रोक्न सीमा क्षेत्र मा आवश्यक कदम उठाएपछि ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको उनले जनाएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘क्यानडाले अमेरिकासँग जोडिएको उत्तरी सीमा क्षेत्र सुरक्षित गर्ने जनाएको छ । त्यसका लागि प्रधानमन्त्री जस्टिन ट्रुडोले १।३ अर्ब क्यानडाइ डलर खर्च गर्ने प्रतिबद्धता जनाएको ट्रम्पको भनाइ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्