अरुणपूर्वका ९ जिल्लामा आज पहिचानको पक्ष बन्द, बन्दको प्रभाव सामान्य
काठमाडौं, २० माघ। ताप्लेजुङ्गको मुकुम्लुङ पाथिभरामा केबलकार निर्माणको विरोधमा आज पहिचान पक्षले अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव सामान्य परेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो दिन सामान्य प्रभाव परेको हो ।
प्रहरीका अनुसार आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य मात्र परेको उनले बताए । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधन केही चलेका छन् ।’
पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी भएको परुहरलिे जनाएको छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।
बन्दकर्ताहरुले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर मा बन्दको आह्वान गरेको छ ।
एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको काठमााडैंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्