लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौ, १७ माघ। पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नम्बर–१२ स्थित पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले बताए ।

लागुऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखा र जिप्रका पश्चिम नवलपरसासीबाट खटिएको प्रहरीले लोनियाको घरबाट लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा बिहीबार साँझ अपरेसन चलाएका हुन् । पक्राउ गर्न खोज्दा प्रहरीको हतियार खोस्न खोजेपछि गोली प्रहार गरिएको डीएसपी बोहराले बताए । प्रहरीले प्रहार गरेको गोली लागेर लोनिया घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार हुँदै छ ।

लागुऔषध कारोबारमा संलग्न एकजना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले ९३ पुरिया खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्