कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकको व्यवस्था स्वीकार्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं,१६ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्ने आएको विधेयकलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताएका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन छलफल नभएको पनि बताएका छन् । गहन छलफल नगरी हतारमा विधेयक ल्याउदा यसले दिर्घकालसम्म असर गर्ने भएको उनले बताए ।

शर्माले भने ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ ।

विधेयक ल्याउन सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन खोजेरै ल्याइएको हो भनेर भने पनि त्यसको भारी कांग्रेसले नबोक्ने शर्माको दाबी छ । अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा कांग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन ।

शर्माले जनमत, सरोकार, नियमन गर्ने अरु विधिहरू ख्याल नै नगरी विधेयक ल्याउने कार्य भएको बताए । फेक आइडी बनाउने, अमार्यादित ढंगले गाली गर्ने, अश्लिल सामग्री पोष्ट गर्ने नियन्त्रण गर्ने सन्दर्भमा भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताकै चाहना पनि रहेको पनि शर्माले बताए ।

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विश्वप्रकाश शर्मा प्रवक्ता हुँदा जारी भएको वक्तव्यसँग अहिले महामन्त्री हुँदा पनि प्रतिवद्ध छ,’ शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक हामीसँग परामर्श नगरी जारी गरिएको छ । यस विघेयक प्रति हाम्रो आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस्