अमेरिकाले १४ लाख बढी आप्रवासी निष्कासन गर्ने, नेपालीको संख्या १,३६५
काठमाडौं,१६ माघ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक गरेको छ ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा नेपालीको संख्या १ हजार ३६५ रहेको छ । सूचिमा परेका विदेशी आप्रवासीसंगै नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।
राष्ट्रपति ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहणसंगै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो संगै आप्रवासीलाई अमेरिकाबाट निश्कासन गर्न बाटो खुलेको हो ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।
जसमध्ये होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । त्यस्तै, चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्