ग्लोबल आइएमई लघुवित्त नाफामा उल्लेख्य वृद्धि

काठमाडौं,१६ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत अर्थात ७ करोड ५ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा बढोत्तरी भएको हो ।
समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढी हो । गतवर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

साथै पुस मसान्तसम्ममा लघुवित्तले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको छ । लघुवित्तको यो गत वर्षको तुलनामा नाफा १४७.३३ प्रतिशतले वृद्धि भएको हो । लघुवित्तको इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ खुम्चिएको छ । लघुवित्तको वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ ।
चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिसम्ममा तीन अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा रहेको छ । खराब कर्जा अनुपात ४.१० प्रतिशत रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.७३ गुणा छ ।

प्रतिक्रिया दिनुहोस्