रेखा थापामाथी खुश्वु ओलीको कटाक्ष्य
काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य रेखा थापामाथी अर्की महिला नेतृ खुश्वु ओलीले कटाक्ष्य गरेकी छन् । शुक्रबारदेखि सुरु भएको राप्रपा केन्द्रीय समिति बैठकको मन्तव्यलाई लिएर अर्की महिला नेतृ खुश्वु ओलीले केन्द्रीय समिति बैठकमा कटाक्ष गरेकी छन् । रेखाले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरेपछि खुस्बुले प्रतिवाद गर्दै कटाक्ष्य गरेकी हुन् ।
गत शुक्रवारदेखि सुरु भएको राप्रपा केन्द्रीय समिति बैठक हिजो सकिएको छ । सो बैठकमा ३५ मिनेट सहभागी भएकी रेखाले छोटो मन्तव्य राख्ने क्रममा पार्टी महामन्त्री डा. धवलशम्शेर राणाप्रति झुकाव देखाइन् । राणाले बैठकमा आलोचनात्मक राजनीतिक विचार प्रस्तुत गरेकामा त्यलाई रेखाले समर्थन गरेकी थिइन् ।
रेखाले राणा अस्वस्थ रहेको बेलामा संगठन विभागबाट हटाइएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । विशेषगरी पार्टीका युवा नेतृहरुले नेतृत्वको स्वस्थ आलोचना नगरी अध्यक्षको भक्तिभाव मात्र गर्ने गरेको आरोप पनि उनले लगाइन् ।
पार्टीको प्रशिक्षण विभागकी उपप्रमुख समेत रहेकी केन्द्रीय सदस्य ओलीले आफ्नो पालो आएपछि थापालाई जवाफ दिएकी हुन् । चुनावपछि गाउँ नफर्किएका नेताहरुले क्रियाशील नेताहरुलाई आरोप लगाउनु हाँस्यास्पद भएको टिप्पणी उनले गरिन् ।
आफू निर्वाचनपछि निरन्तर गाउँमा पुग्ने गरेको र जनताका सुखदुःखमा जोडिने गरेको भन्दै उनले पार्टीमा क्रियाशील नै नभएको मान्छेले नेतृत्वको आलोचना गर्नु अराजनीतिक भएको टिप्पणी गरिन् ।
उनले रेखालाई लक्ष्यित गर्दै भनिन्, ‘पार्टीमा काम नगर्ने तर, बोल्नेक्रममा नेतृत्वको आलोचनामात्र गर्ने प्रवृत्तिको अन्त्य गरी सबै नेताहरु जनता समक्ष जानुपर्छ ।’
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रेखालाई थप कटाक्ष गरेकी थिइन् । ओलीले भनिन्, ‘तीनदिन सम्म चलेको बैठकमा ३५ मिनेट बस्ने अनि नेतृत्वलाई मनलाग्दी टिप्पणी गर्ने प्रवृत्ति ठीक होइन ।’
अघिल्लो महाधिवेशनमा अध्यक्ष लिङ्देनकै समुहबाट उम्मेदवार बनेर पराजय व्यहोरेकी रेखा पछिल्ला दिनहरुमा पार्टीको गतिविधिमा सक्रिय नभएको आरोप लाग्दै आएको छ । यसले गर्दा महलिा नेतृ रेखा र ओलीबीच ध्रुविरकरण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्