बाल यौन दुरूपयोगमा मदन राई अदालतबाट दोषी ठहर
काठमाडौं, १३ माघ। कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए।
मदन राईले आफ्नो फाउन्डेसनमा लामो समयसम्म बालबालिकामाथि यौन दुर्व्यवहार गरेको समाचार प्रकाशन भएको थियो।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।
कुराकानी क्रममा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका थिए।
यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ।
२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो।
मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो।
ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।
र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।
उक्त कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो।
प्रतिक्रिया दिनुहोस्