सुप्रिम सहकारी ठगी प्रकरणमा रविको पक्षमा रमण श्रेष्ठले थुनछेक बहस गर्दै

काठमाडौं, १३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ । गत बुधबारबाट जारी थुनछेक बहसमा आज प्रतिवादीका तर्फबाट वकिलहरूको बहस जारी भइरहेको छ ।

अहिले रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए ।

उनीहरूको बहस नसकिएपछि आज उपस्थित हुनेगरी इजलासले रविलाई परिवारको जिम्मा लगाएको थियो ।

थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् ।

त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्