तराईमा हुस्सु तथा कुहिरो, जनजीवन कष्ठकर

काठमाडौँ, १२ माघ। माघको दोस्रो साता हुँदै गर्दा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको संभावना रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।

मधेस प्रदेशको पूर्वी भू-भाग सप्तरी तथा कोशी प्रदेश को तराई भू-भाग झापा, मोरङ र सुनसरीमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन कष्ठकर हुने छ । कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसलाई विशेष ख्याल गर्दा दुर्घटनाबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्