कांग्रेसको क्रियाशील सदस्यता चैतसम्म सक्ने लक्ष्य
काठमाडौं, ६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद लामो समयदेखि समाधान हुन सकेको छैन । यो विवादलाई पार्टीले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ । २०६७ सालदेखि नै क्रियाशील सदस्यताको विवाद मिल्न सकेको छैन । २०६७ असोजमा भएको १२औं महाधिवेशनमा निस्केको विवादका कारण पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन भएको थियो । त्यसबखत सुशील कोइराला सभापति चयन भएका थिए ।
त्यसपश्चात् २०७२ फागुनमा १३औँ महाधिवेशन भएर पार्टी सभापति शेरबहादुर देउवा चयन भए । त्यसबेला पनि समाधान नभएको क्रियाशील सदस्यता विवाद पार्टीको १४ औँ महाधिवेशन सकिएर दोस्रो पटक सभापति शेरबहादुर देउवाको कार्यकाल आधाभन्दा बढी भएपनि अहिलेसम्म हल हुन सकेको छैन । अहिले नेतृत्वले महाधिवेशनको तयारी गरिरहँदा क्रियाशील जस्तो महत्त्वपूर्ण विषयमा देखिएको विवाद हल गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए। यतिबेला कांग्रेसभित्र १५औँ महाधिवेशन केन्द्रित बहस र छलफल हुन थालिसकेको छ । घोषित तथा अघोषित रूपमा महाधिवेशनबाट नेतृत्वमा पुग्न चाहने नेताहरु दौडमा लागेका छन् । यहीबिचमा महाधिवेशनको प्रस्थानविन्दु मानिने सदस्यतासम्बन्धी विवाद निवारणका लागि भन्दै कांग्रेसले २०८१ चैत २९ गतेलाई सिमानै तोकेर तल्ला तहलाई पत्राचार गरेको छ कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था छ ।
पार्टीमा महामन्त्री गगन थापा नेतृत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति रहेको छ । जसको सदस्यमा प्रकाश स्नेही रसाइली‚ सीता गुरुङ तथा योगेन्द्र चौधरी रहेका छन् ।
समितिले ७७ जिल्ला कार्यसमितिका सभापतिलाई बिहीबार परिपत्र गर्दै चैत २९ गते अपराह्न ३ बजेभित्र क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले हस्ताक्षर गरेर पठाइएको परिपत्रमा क्रियाशील विवरण मात्र नभई अनिवार्य शुल्क समेत उठाएर केन्द्रीय बैंकको भौचरमा डिपोजिट गर्न भनिएको छ । समिति सदस्य प्रकाश स्नेही पार्टीले पहिले क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको बताए ।
उनले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्न जातजाति, जनसङ्ख्या, लिङ्ग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने तयारीमा पार्टी रहेको जानकारी दिए।
कांग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा जिल्ला सभापतिलाई माघ १२ गते अपराह्न ५ बजेसम्म अनिवार्य रूपमा फारम पठाइसक्न निर्देशन दिएको छ । यस्तै‚ एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिलाई माघ १३ गते अपराह्न ५ बजेसम्म प्रदेश सभा क्षेत्रीय सभापतिलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता फारम र नामावली बुझाइसक्न परिपत्रमा उल्लेख गरेको छ ।
परिपत्र अनुसार प्रदेश सभा क्षेत्रीय सभापतिले गाउँ तथा नगरका सभापतिलाई क्रियाशील नवीकरण फारम र सम्बन्धित गाउँ–नगरभित्रका क्रियाशीलको नामावली माघ १४ गते अपराह्न ५ बजेसम्म बुझाइसक्नुपर्ने छ । यस्तै गाउँ नगरका सभापतिले आफूले प्राप्त गरेको क्रियाशील सदस्यता नवीकरण फारम र सम्बन्धित वडाका क्रियाशील सदस्यको नामावली माघ १५ गते अपराह्न ५ बजेभित्र अनिवार्य रूपमा वडा कार्यसमितिका सभापतिलाई बुझाइसक्नुपर्ने छ ।
परिपत्रमै कांग्रेसले फारम पाएपश्चात् तहगत समितिले विवरण शुल्क सहित फिर्ता गर्नुपर्ने समयको सीमा पनि तोकेको छ । जसमा वडा सभापतिले क्रियाशील सदस्यता फारम पाएपछि माघ १५ गतेदेखि फागुन १ गतेभित्रमा वडा कार्यसमिति बैठक राखेर क्रियाशील सदस्यता नवीकरण गर्ने र नवीकरण शुल्क दुई सयका दरले लिने उल्लेख छ । यस्तै क्रियाशीलका विवरण र शुल्क गाउँ तथा नगरमा बुझाउने उल्लेख छ ।
यस्तै वडाबाट आएको क्रियाशील नवीकरण फारम र शुल्क फागुन १० भित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने तथा गाउँ तथा नगरबाट प्राप्त क्रियाशील सदस्यको नवीकरण फारम र सदस्यता शुल्क फागुन २० गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने समय सीमा तोकिएको छ ।
समितिका अनुसार प्रदेश सभा क्षेत्रबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र सदस्यता शुल्क फागुन मसान्तभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने‚ एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील र सदस्यता शुल्क चैत १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउने समय सीमामा उल्लेख छ ।
यसबाहेक नवीकरण भएका क्रियाशील सदस्यको नामावली विवरण र वडागत सङ्ख्यासहित सदस्यता शुल्क कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरी भौचर चैत २९ गते अपराह्न ३ बजेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउने उल्लेख छ ।
‘नवीकरण रकम, नामावली र वडागत सङ्ख्या विवरण केन्द्रमा प्राप्त भएपछि मात्र पार्टीको वेबसाइटमा नवीकरण डाटा इन्ट्री गर्नका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइनेछ‚’ परिपत्रमा उल्लेख छ ।
स्मरण रहोस् कांग्रेसमा क्रियाशील सदस्यता नभएको व्यक्ति वडा देखि केन्द्रसम्मका पार्टी नेतृत्वमा जान नपाउने व्यवस्था छ । यसले पाटीृलाई गतिशिल बनाउने छ ।
प्रतिक्रिया दिनुहोस्