एमालेको जरा केन्द्रित तीन महिने अभियान: शिर्ष नेताहरू धनकुटा लागे

काठमाडौं, ६ माघ । नेकपा एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको लागि महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि शिर्ष नेताहरू धनकुटा जान लागेका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईलगायतले सम्बोधन गर्नेछन् ।

आइतबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ ।

एमाले, माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ ।

यो अभियानमा सङ्गठनका कमीकमजोरीको मूल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बाधेनको प्रयास गरिने एमालेले जनाएको छ । यसले गर्दा पार्टीको अन्तरवस्तु पत्ता लगाई बजवुत बनाउने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्