यू-१९ महिला टी-२०  आजदेखि शुरु, नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं, ५ माघ । निकै चर्चामा रहेको आईसीसी९१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल मध्ये नेपालले पनि आफ्नो पहिलो खेल खेलदैछ ।

यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने भएको हो ।

नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।

ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न गर्ने अपेक्षा गरेको छ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।

नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू९१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।

विश्वकप खेल्न मलेसिया प्रस्थान गर्नुअघि नेपालकी कप्तान पुजा महतोले बंगलादेशसँग एसिया कपमा व्यहोरेको हारको बदला लिने बताएकी थिइन् ।

शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन । मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ ।

यस खेलमा टस जित्ने खेलाडीले बलिङ रोज्दा फाइदा हुनेछ । ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ । त्यसकारण बलरहरू हावी बन्न सक्छन् ।

आजका खेलहरू : 

इंग्ल्याण्ड यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : विहान ८:१५
अस्ट्रेलिया यू-१९ महिला भर्सेस् स्कटल्याण्ड यू-१९ महिला : विहान ८:१५
सामोआ यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : विहान ८:१५
बंगलादेश यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५
पाकिस्तान यू-१९ महिला भर्सेस् अमेरिका यू-१९ महिला : दिउँसो १२:१५
दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् न्युजिल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५

प्रतिक्रिया दिनुहोस्