नेप्सेमा लगातार चार कारोबार दिन गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं,२९ पुस । सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला चार कारोबार देखि घटिरहेको नेप्सेले आज पनि त्यस क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।
नेप्से सूचाकं घटेपनि यस दिन कारोबार रकम भने बढेर बन्द भएको छ । आइतबार करिब ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६४ हजार २७८ पटकको कारोबारमा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । सो कम्पनीको शेयर मूल्य यस दिन ८७ रुपैयाँ ३० पैसा बढेर ९६० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो । त्यस्तै, सुपर मादी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४५ करोड २५ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनको कारोबार रकम साढे १५ करोड नाघेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्