माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी पूरा
काठमाडौँ, २६ पुस । यसवर्ष शालिनदीमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी पूरा गरिएको छ ।
माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले यही पुस २९ गतेदेखि एक महिनासम्म संचालन हुने मेलामा आउने दर्शनार्थीको भिड व्यवस्थापन, स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवाको व्यवस्थासहित सुरक्षाका लागि १२ वटा सिसि क्यामेरा जडान गरेको हो।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म करिब २५ लाखसम्म आन्तरिक एवम् बाह्य पर्यटकले मेला भर्ने अनुमान गरिएको शालिनदी क्षेत्रमा इलाका प्रशासन कार्यालयसँग समन्वय गरी समितिले स्थानीय पसलमा निर्धारण गरेको मूल्यसूची भन्दा अधिक मूल्य लिने पसललाई कारवाही गरिने शंखरापुर नगरपालिका-७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
प्लाष्टिकजन्य वस्तु का साथै मन्दिर आसपास क्षेत्रमा माछा, मासुजन्य खाने कुरा निषेध गरेको समितिका अध्यक्ष विकास सिंहले जानकारी दिनुभयो।
मेलामा आउने भक्तजनको सहजताका लागि सार्वजनिक यातायातको व्यवस्था गरिने भएको छ । शालिनदी यातायात, बाबा गोकर्णेश्वर यातायातसँग समन्वय गरी यातायात व्यवस्थित रुपमा सञ्चालन गर्ने समझदारी गरिएको छ।
मेलाको एक हप्तादेखि नै वर्तालुले विधिपूर्वक पूजापाठ तथा वर्त प्ररम्भ गरिने छ । वर्तालुले साहाकारी भोजन गर्नुपर्ने हुन्छ । मन्दिरको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वलाई प्रचार प्रसार गर्न शुरु गरिएको छ।
मेला अवधिमा व्रतालुलाई परदेश यात्रा गराइने प्रचलन
अनुसार शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा भ्रमण तथा दर्शन गराइने समितिका सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
मेलामा एक करोड भन्दा बढी कारोबार हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्