अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रण बाहिर
काठमाडौं,२६ पुस। विश्वकै शक्तिशाली मानिने देश अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो अझ पनि नियन्त्रण बाहिर रहेको छ ।
प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले जनाएको छ । हजारौ घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेर नष्ट भएका छन् ।
हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका सबै प्रयास लगभग विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ ।
आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर ७ पुगेको छ भने हजारौं व्यक्तिहरु विस्थापित भएका छन् । बीबीसीले कम्तिमा १ लाख ३० हजार व्यक्ति घर छाड्न बाध्य भएको जनाएको छ ।
हलिउड हिल्स पनि डढेलोको चपेटामा परेको छ । कयौं फिल्म स्टारहरुको घर पनि आगोमा जलेको छ । यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भनिएको छ ।
अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य तीन कारण छन् । पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा, र अर्को कारण हो विश्व जलवायुमा आएको परिर्वतन । क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर सुकेका छन् । जंगलका रुखहरु पनि सुकेका छन् । त्यसले आगो लाग्न इन्धनको काम गरेको छ ।
हावाको वेगले आगोलाई छिटो जताततै फैलाउन मद्दत गरेको बताइएको छ । विगतमा पनि डढेलो लाग्ने गरे पनि पहाडी क्षेत्रमा मात्र सीमित हुन्थ्यो । अहिले भने तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बताइएको छ ।
अमेरिकाका जलवायु विज्ञहरुका अनुसार अझै पनि तीव्र हावा चल्ने सम्भावना रहेकाले आगो अझै फैलिने सम्भावना छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्