आइसिसी विश्व ११ टोलीको छनौटमा परे सन्दीप

काठमाडौं । टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने आइसिसीको विश्व ११ टोलीमा छनौटमा परेका छन् ।

सो टिमको सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र स्वेएब मलिक, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान परेका छन् ।

वेस्ट इन्डिजको टोली भने क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायत सदस्य रहेका छन् ।

छनौट पछि हर्षित हुँदै सन्दिपले भने, ‘म वेस्टइन्डिजविरूद्धको खेलमा आइसिसी विश्व ११ का लागि छनौट हुँदा आफूलाई भाग्यमानी ठानेको छु, यो नेपाली क्रिकेट प्रेमीमाथिको सम्मान हो । उनले भने , ‘हामीले हुर्कँदै गर्दा टेलिभिजनमा देखेका ‘ट्रेन्ड सेटर’ हरूसँग सँगै अभ्यास गर्ने, एउटै ड्रेसिङ रूममा बस्ने र सँगै खेल्ने अवसरका लागि म प्रतीक्षारत छु । यो मेरा लागि सिक्ने र सुधार गर्ने अवसर पनि हो । र यो अवसरको उपयोग गर्न म तत्पर रहनेछु ।’

प्रतिक्रिया दिनुहोस्