एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदै

काठमाडौं, २३ पुुुस । आतबारदेखि जारी नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको बैठकमा आज पनि पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेछन्।

आइतबारदेखि सुरू भएको बैठकमा अहिलेसम्म ९८ जना पोलिटब्युरो एवम् केन्द्रीय सदस्यहरूले बोलिसकेका छन्।

बैठकमा बोल्ने अधिकांश सदस्यको धारणा विश्लेषण गर्दा ६ समान विषय देखिएको एक केन्द्रीय सदस्यले बताए।

पहिलो, अध्यक्ष ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेससँग अहिले सत्तामा सहकार्य रहेको चुनावमा प्रतिस्पर्धा हुने कुरालाई बुझाएर जानुपर्ने बताएका छन्
‘कांग्रेससँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुने कुरालाई आम कार्यकर्ता र नागरिकलाई पनि बुझाउनुपर्छ भन्ने धारणा मूल रूपमा आएको छ,’ ती केन्द्रीय सदस्यले भने।

दोस्रो, चीनसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० सम्झौताप्रति सरकारलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा अधिकांश सदस्यले जोड दिएका छन्।

तेस्रो, अध्यक्ष ओलीको प्रतिवेदनमाथि बोल्ने अधिकांश केन्द्रीय सदस्यले युवाकेन्द्रित नीति, कार्यक्रम ल्याउन जोड दिएका छन्। देशबाट युवा बाहिरिइरहेका प्रति पार्टी र सरकार गम्भीर हुनुपर्ने उनीहरूको साझा निष्कर्ष छ।

चौथो, आइतबार र सोमबार धारणा राख्ने केन्द्रीय एवं पोलिटब्युरो सदस्यले स–साना उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। ठूलो उद्योग धन्दाको स्थापना र रोजगारी सिर्जना गर्न हाम्रो अर्थतन्त्रको आकार बाधक हुने बताउँदै उनीहरूले स–साना उत्पादन, रोजगारी सिर्जना हुँदै आत्मनिर्भरताको बाटो समात्नुपर्नेमा जोड दिएका हुन्।

पाँचौं, एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधि मनमौजी हुन थालेकाप्रति पनि केन्द्रीय सदस्यले चिन्ता व्यक्त गरेका छन्। पार्टी बलमा जित्ने तर जितेपछि पार्टीको नीति, सिद्धान्तभन्दा पर रहेर कार्यसम्पादन गर्ने, घोषणापत्र अनुरूप नचलेको उनीहरूको गुनासो थियो।

गएको स्थानीय तह उपनिर्वाचनमा यसअघि जितेका ठाउँमा विजय हासिल गर्न नसक्नुको मूल कारण पनि यही भएको उनीहरूको निकर्ष थियो। मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा एमालेले एक ठाउँबाहेक अन्यत्र कतै पनि जित जोगाउन सकेको थिएन।

छैटौं, एमालेभित्र गुटबन्दी हुर्किँदै गएकाप्रति अधिकांश सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्। पार्टीमा देखापरेको गुटको सम्बन्ध माथिसम्म नभए पनि तलतल स्थानीय अन्तरविरोध देखा पर्न थालेको उनीहरूको साझा धारणा छ।

सदस्यहरूको बोल्ने पालो सकिएपछि प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जबाफ ओलीले दिनेछन्। त्यसपछि समसामयिक प्रस्ताव पारित गरेर केन्द्रीय कमिटीको बैठक सकिनेछ।

प्रतिक्रिया दिनुहोस्