भूकम्पको असरः स्युचाटारमा घरबाट हामफाल्दा एक घाइते, बाराको कलैयामा ११ जना विद्यार्थी बेहोस
काठमाडौं, २३ पुुुस । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका, १० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम फालेका हुन् । आफ्नै तीन तले घरको १.५ तला माथिबाट हाम फाल्दा भुईंमा लडेर घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ ।
आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । उपत्यकावासी आत्तिएर घरबाहिर निस्किएका थिए ।
प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ । यसका साथै केहि विवरण आउने क्रम जारी रहेको छ । उता चीनमा भने मेत्यु हुनेको संख्या कम्तीमा ५३ पुगसकेको छ ।
प्रतिक्रिया दिनुहोस्