माओवादी केन्द्रीय समिति बैठक: अध्यक्ष प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने सदस्यहरूको धारणा
काठमााडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले अध्यक्ष प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर धारणा राख्ने क्रममा सोमबारको बैठकमा सदस्यहरूले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव आएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बोल्ने कतिपय सदस्यहरूले अध्यक्ष प्रचण्डसमेत कम्तीमा पनि महिनामा ३ पटक श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए ।
यस्तै दण्डहीनताको अन्य हुनुपर्ने, काँठ क्षेत्रमा पनि पार्टीको विशेष अभियान सञ्चालन हुनुपर्ने, विभागहरूलाई प्रभावकारी बनाउनुपर्ने विषय सदस्यहरूले उठाएको उनको भनाइ छ । यस्तै पार्टीको सदन र सडकलाई जोड्ने नीतिअनुसार सदनलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने, सदन छिटो आह्वानका लागि दबाब दिँदै अरू पार्टीसँग पनि सहकार्य बढाउनुपर्ने सदस्यहरूले सुझाव दिएका छन् ।
यस्तै बैठकमा महाधिवेशन गर्ने कुरामा सबैको सहमति रहेपनि अभियानमा गएर त्यसपछि महाधिवेशनको मिति र कार्यतालिका तोक्नुपर्छ भन्ने अधिकांशको भनाइ रहेको सापकोटाको भनाइ छ । केहीको चाहिँ अहिले नै तोक्नुपर्छ भन्ने समेत धारणा आएको उनले बताए ।
यस्तै अध्यक्षको प्रतिवेदन वैज्ञानिक र वस्तुवादी भएको धेरैको धारणा रहेको उल्लेख गर्दै सापकोटाले पहिचानको मुद्दाबारे सशक्त कुरा उठेको पनि बताए ।
बैठकमा बोल्ने ८० जना नै सदस्यले नेकपा माओवादी केन्द्रलाई ऐतिहासिक अवसर प्राप्त भएको बताएको उल्लेख गर्दै सापकोटाले प्राप्त अवसरलाई गुम्न दिन नहुने र त्यसका लागि पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएको धारणा राखे । बैठक मंगलबार ११ बजे फेरि बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्