उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना, काठमाडौं उपत्यकामा मंगलबार हल्का पानी पर्ने
काठमाडौं, २१ पुुस । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत गरिएको छ । काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ ।
पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले बताए । उनका अनुसार बाँकी भूभागमा पनि एक–दुई ठाउँमा छिटफुटदेखि हल्का पानी पर्ने स्म्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण यस्तो भएको बताउँदै उनले अघिल्ला पश्चिमी न्यूनचापीय प्रणालीभन्दा यो केही कमजोर देखिएको बताए । तर देशभर नै तापक्रम केही घटेर चिसो बढ्नेछ ।
बुधबार बिहानैबाट मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकाको अवस्थाः
मौसमविद गंगा नगरकोटीका अनुसार आज बिहान पनि काठमाडौं उपत्यका आइतबारको दिनजस्तै धुम्म हुने छ । बादल लागेकाले काठमाडौं धुम्म भएको छ । यस्तो अवस्था मंगलबारसम्मै रहने सम्भावना छ ।
बादल लागेकाले अधिकतम तापक्रम घट्दा चिसो महसुस भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ८ दशमलव ४ डिग्री सेल्सियस छ भने दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने सम्भावना छ ।
मौसमविद नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा मंगलबार छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्